Teken aan
2 शमूएल 6
NEP2008

2 शमूएल 6 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)

1फेरि एकचोटि दाऊदले इस्राएलका सबैभन्दा असल ३०,००० सिपाहीहरू भेला गरे 2र परमेश्‍वरको करारको सन्‍दुक यहूदाको बालाबाट लिई आउन तिनीहरूलाई साथमा लिई त्‍यहाँ गए। सन्‍दुकचाहिँ स्‍वर्गीय प्राणीहरूमाथि विराजमान हुनुहुने सर्वशक्तिमान् परमप्रभुको नामले चिनिन्‍थ्‍यो। 3सन्‍दुक तिनीहरूले डाँडाको अबीनादाबको घरबाट निकालेर एउटा नयाँ गाडामा राखे। अबीनादाबका छोराहरू उज्‍जाह र अहियोले गाडालाई डोर्‍याउँदै थिए, 4अहियो अघि-अघि हिंडिरहेका थिए। 5दाऊद र सबै इस्राएलीहरू परमप्रभुको सम्‍मानमा बडो जोश र जोडसित नाच्‍दै र गाउँदै थिए। तिनीहरूले सारङ्गी, वीणा, ढोल, खैँजडी र झ्‍याम्‍टा बजाइरहेका थिए। 6तिनीहरू नाकोनको खलामा आइपुग्‍दा गोरुहरूले ठेस खाए र उज्‍जाहले हात बढाएर करारको सन्‍दुकलाई थामे। 7तर उत्तिखेरै परमप्रभु उज्‍जाहसित क्रोधित हुनुभयो र तिनको भक्तिहीन कार्यको कारण तिनलाई मार्नुभयो। उज्‍जाह त्‍यहाँ करारको सन्‍दुकको छेउमा मरे। 8यसैले त्‍यस दिनदेखि त्‍यस ठाउँको नाम फारेस-उज्‍जाह भयो। परमेश्‍वरले आफ्‍नो क्रोधमा उज्‍जाहलाई मार्नुभएकोले दाऊद डराए। 9त्‍यसपछि दाऊद परमप्रभुसित डराए र भने, “अब कसरी म करारको सन्‍दुक लिएर जान सक्‍छु?” 10यसैले तिनले सन्‍दुक आफूसित यरूशलेम नलैजाने निर्णय गरे र त्‍यसको बदलीमा अर्कै बाटो लिई त्‍यो गात नगरको बासिन्‍दा ओबेद-एदोमको घरमा पुर्‍याए। 11त्‍यस घरमा सन्‍दुक तीन महिनासम्‍म रह्यो र परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशिष् दिनुभयो। 12करारको सन्‍दुकको कारणले परमप्रभुले ओबेद-एदोम र तिनका सबै थोकलाई आशिष् दिनुभएको छ भनी दाऊदले सुने र तिनी गएर ओबेदको घरबाट सन्‍दुक बडो धुमधामको साथ यरूशलेममा ल्‍याए। 13सन्‍दुक बोक्‍ने मानिसहरू छ कदम हिंडेपछि दाऊदले तिनलाई रोके र एउटा साँढे र मोटो बाछो परमप्रभुलाई बलिदान चढाए। 14दाऊद कम्‍मरमा एउटा मलमलको लुगा मात्र बेरेर परमप्रभुको सम्‍मानमा बडो जोशले नाचे। 15यसरी तिनी र सबै इस्राएलीहरू मिलेर आनन्‍द-ध्‍वनिसाथ र तुरही बजाउँदै करारको सन्‍दुक यरूशलेममा लिएर आए। 16सन्‍दुक सहरमा आइपुग्‍दा शाऊलकी छोरी मीकलले झ्‍यालबाट हेरिन् र दाऊद राजालाई उफ्रँदै र नाच्‍दै गरेका देखिन् र मनमनै घृणा गरिन्। 17सन्‍दुक ल्‍याएर तिनीहरूले दाऊदले त्‍यसको निम्‍ति तयार गरेको पालभित्र ठीक ठाउँमा राखे। त्‍यसपछि तिनले परमप्रभुलाई होमबलि र मेलबलि चढाए। 18बलि चढाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिए 19र सबैलाई खाना बाँडे। तिनले इस्राएलका हरेक पुरुष र स्‍त्रीलाई एकएक वटा रोटी, एक-एक टुक्रा भुटेको मासु र केही किसमिस दिए। त्‍यसपछि सबै जना घर गए। 20त्‍यसपछि जब आफ्‍ना परिवारलाई भेट्‍न दाऊद महल गए, तब मीकल तिनलाई भेट्‍न आइन् र भनिन्, “इस्राएलका राजाले आफ्‍नो निम्‍ति आज ठूलो नाम कमाए। तिनले आफ्‍ना भारदारहरूका दासीहरूका अघि आफैंलाई मूर्खझैँ तुल्‍याए!” 21दाऊदले जवाफ दिए, “म परमप्रभुको सम्‍मानमा नाचिरहेको थिएँ, जसले मलाई तिम्रा बुबा र उनको परिवारको सट्टामा चुन्‍नुभयो र आफ्‍ना प्रजा इस्राएलका अगुवा बनाउनुभयो। परमप्रभुको सम्‍मानमा म अझ नाच्‍नेछु 22र आफैंलाई अझ बढी अपमानित गराउनेछु। तिम्रो निम्‍ति म अपमानित हुँला; तर ती दासीहरूको अघि म औधी सम्‍मानित छु!” 23शाऊलकी छोरी मीकलको मर्ने बेलासम्‍म पनि सन्‍तान हुन सकेन।