आमोस 1 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)
1तको सहरबाट आएका गोठाला आमोसले भूइँचालो गएको दुई वर्षअघि भनेका कुरा यी नै हुन्। त्यस बेला यहूदाका राजा उज्जियाह र इस्राएलका राजा येहोआशको छोरा यारोबाम थिए। परमेश्वरले आमोसलाई इस्राएलबारे यी सबै कुरा प्रकट गर्नुभयो। 2आमोसले भने, “सियोन पहाडबाट परमप्रभु गर्जनुहुन्छ, यरूशलेमबाट उहाँको सोर आकाशको गर्जनझैँ निस्कन्छ। गाई-वस्तु चर्ने चउरहरू सुकिजान्छन् र कर्मेल डाँडाका घाँसपात ओइलिजान्छन्।” 3परमप्रभु भन्नुहुन्छ, “दमस्कसका मानिसहरूले घरिघरि पाप गरेका छ यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले गिलाद देशका मानिसहरूलाई निर्दयतापूर्वक फलामको दाँतेले पेलेर धुलोपिठो पारेका छन्। 4यसर्थ म हजाएल राजाको दरबारमा आगो लगाईदिनेछु र बेन-हुदद राजाका किल्लाहरू भस्म पारिदिनेछु। 5म दमस्कस सहरका ढोकाहरू ध्वंस पार्नेछु, आवनको बेसीका बासिन्दाहरू र बेथ-अदनको शासकलाई त्यहाँबाट हटाउनेछु। अरामवासीहरू कैद गरी कीर देशमा लगिनेछन्।” 6परमप्रभु भन्नुहुन्छ, “गाजा सहरका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नैछैनँ। तिनीहरूले एउटा समुदायका जम्मै मानिसहरूलाई कैद गरी लगे र एदोमीहरूकहाँ कमारा बनाई बेचिदिए। 7यसर्थ म गाजा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु। 8अश्दोद र अश्कलोन सहरका शासकहरूलाई म हटाउनेछु। म एक्रोन सहरलाई दण्ड दिनेछु र बाँकी रहेका सबै पलिश्तीहरू मारिनेछन्।” 9परमप्रभु भन्नुहुन्छ, “टुरोसका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले एउटा समुदायका सबै मानिसहरूलाई कैद गरी एदोममा लगे र आपसमा बाँधेका मित्रताको सन्धि तोडे। 10यसर्थ म टुरोसका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु।” 11परमप्रभु भन्नुहुन्छ, “एदोमका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले आफ्ना इस्राएली दाजुभाइहरूको खेदो गरे र केही दया देखाएनन्। तिनीहरूको रिस दन्कि नै रह्यो र कहिल्यै मरेन। 12यसर्थ म तेमान सहरमा आगो लगाइदिनेछु र बोज्राका किल्लाहरू भस्म पारिदिनेछु।” 13परमप्रभु भन्नुहुन्छ, “अम्मोनका मानिसहरूले घरिघरि पाप गरेका छन् र म तिनीहरूलाई दण्ड नदिई छोड्नैछैनँ। तिनीहरूले आफ्नो साँध-सिमाना बढाउन लडाइँ गर्दा गिलाद देशका गर्भवती स्त्रीहरूको पेट पनि चिरिदिए। 14यसकारण म रब्बा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु। लडाइँको दिनमा ठूलो हो-हल्ला हुनेछ र प्रचण्ड भूमरी चलेको दिनमा झैँ लडाइँ हुनेछ। 15तिनीहरूका राजा र भारदारहरू कैद गरेर लगिनेछन्।”

