登录
होशे 11
NEP2008

होशे 11 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)

1परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएल एउटा बालक छँदा मैले त्‍यसलाई प्रेम गरें र त्‍यसलाई मेरो छोरोको रूपमा मिश्रबाट बोलाएँ। 2तर जति-जति मैले त्‍यसलाई बेलाएँ, त्‍यति-त्‍यति नै त्‍यो मदेखि तर्क्‍यो। मेरा मानिसहरूले बाललाई बलि चढाए, तिनीहरूले मूर्तिहरूलाई धूप बाले। 3तैपनि इस्राएललाई हिँड्‍न सिकाउने म नै थिएँ। मैले आफ्‍ना मानिसहरूलाई मेरो हातले समातें; तर मैले तिनीहरूलाई हेरचाह गरेको कुरा तिनीहरूले मानिलिएनन्। 4मैले तिनीहरूलाई आफूकहाँ माया र प्रेमले खिचेर ल्‍याएँ। मैले तिनीहरूलाई उठाएँ र मेरो गालामा टसाएँ र तिनीहरूतिर निहुरेर मैले तिनीहरूलाई खुवाएँ। 5“तिनीहरू मकहाँ फर्कन मान्‍दैनन् यसैले तिनीहरू मिश्रदेशमा फर्की जानुपर्नेछ र अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्नेछ। 6तिनीहरूका सहरहरूको विरुद्धमा लडाइँ हुनेछन् र सहरका मूल-ढोकाहरू भत्‍काइनेछन्। तिनीहरूको विचारमा आफूलाई जे असल लाग्‍यो, त्‍यही गर्ने हुँदा मेरा प्रजा नाश हुनेछन्। 7तिनीहरू मबाट तर्किजाने जिद्दी गर्छन्। जुवामुनि परेर तिनीहरू चिच्‍याउनेछन् तर कसैले त्‍यो जुवा हटाइदिनेछैन। 8“ए इस्राएल, तँलाई म कसरी छोड्‍न सक्‍छु र? कसरी म तँलाई त्‍याग्‍न सक्‍छु र? के म तँलाई अदमालाई झैँ नाश पार्न सक्‍छु र? कसरी म तँसित सबोयीमसँग झैँ व्‍यवहार गर्न सक्‍छु? त्‍यसो गर्न मेरो मन मान्‍दैमान्‍दैन। तँप्रति मेरो प्रेम साह्रै गहिरो छ। 9मेरो रिसमा मैले तिमीहरूलाई दण्‍ड दिनेछैनँ; म इस्राएललाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्‍वर हुँ, मानिस होइनँ। म परमपवित्र तिमीहरूको साथमा छु। मेरो क्रोधमा म तिमीहरूकहाँ आउनेछैनँ। 10“मेरा प्रजाका शत्रुहरूमाथि म सिंहझैँ गर्जंदा, मेरा प्रजाले मलाई पछ्याउनेछन्। पश्‍चिमबाट तिनीहरू हतारसाथ मकहाँ आउनेछन्। 11मिश्रबाट चराहरूझैँ र अश्‍शूरबाट ढुकुरहरूझैँ तिनीहरू वेगले आउनेछन्। म तिनीहरूलाई फेरि तिनीहरूकै घरमा ल्‍याउनेछु। म परमप्रभुले बोलेको छु।” 12परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका मानिसहरूले मलाई झूट र छलले घेरेका छन् अनि यहूदाका मानिसहरूले म पवित्र र विश्‍वासयोग्‍य परमेश्‍वरसित अझै विद्रोह गरिरहेका छन्।