登录
यशैया 11
NEP2008

यशैया 11 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)

1दाऊदको राजवंश काटिढालेको रूखझैँ छ तर ठुटोबाट नयाँ हाँगा उम्रेझैँ दाऊदको सन्‍तानबाट एउटा नयाँ राजा उठ्‍नेछन्। 2परमप्रभुको आत्‍माले उनलाई बुद्धि, ज्ञान र प्रजालाई शासन गर्न सीप दिनुहुनेछ। उनले परमप्रभुको इच्‍छा बुझ्‍नेछन्, उहाँलाई आदर गर्नेछन् 3र उहाँका आज्ञापालनमा आनन्‍दित मान्‍नेछन्। उनले मुख हेरेर वा अरूका कुरा सुनेर इन्‍साफ गर्नेछैनन्। 4गरीबको इन्‍साफ ठीकसित गर्नेछन् र असहायहरूको रक्षा गर्नेछन्। उनको आज्ञाले अपराधी मानिसहरूले दण्‍ड पाउनेछन् र दुष्‍टहरू मारिनेछन्। 5न्‍याय र इमानदारीसाथ उनले आफ्‍ना प्रजामाथि शासन गर्नेछन्। 6ब्‍वाँसा र भेडा एकसाथ शान्‍तिसित बास गर्नेछन् र चितुवाहरू पाठासित सुत्‍नेछन्। बाछा र सिंहका डमरु एकसाथ खानेछन् र साना बालकहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। 7गाई र भालु एकसाथ खानेछन् र तिनका बच्‍चाहरू एकैसाथ शान्‍तिसित सुत्‍नेछन्। सिंहले गोरुले झैँ पराल खानेछ। 8विषालु सर्पसित खेल्‍दा पनि दूधे-बालकलाई हानि हुनेछैन। 9परमेश्‍वरको पवित्र पर्वत सियोनमा कुनै हानिकारक वा दुष्‍ट कुरा रहनेछैन। समुद्रचाहिँ पानीले भरिएझैँ पृथ्‍वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ। 10त्‍यो दिन दाऊदको वंशबाट एक जना नयाँ राजा राष्‍ट्रहरूका बीचमा एउटा चिनोको रूपमा खडा हुनेछन्। मानिसहरू दाऊद राजाको सहरमा भेला हुनेछन् र उनलाई आदर गर्नेछन्। 11त्‍यो दिन आएपछि परमप्रभुले फेरि एक पल्‍ट आफ्‍नो शक्ति प्रयोग गर्नुहुनेछ र अश्‍शूर, मिश्र, पात्रोस, कूश, एलाम, बेबिलोनिया र हमात देशहरू अनि समुद्रका किनार र टापूहरूमा छोडिएका आफ्‍ना प्रजालाई स्‍वदेश फर्काई ल्‍याउनेछु। 12यहूदा र इस्राएलका चारैतिर छरिएका मानिसहरूलाई पृथ्‍वीका चार कुनाबाट बटुलेर भेला गराएको देखाउन परमप्रभुले एउटा निशानी-झन्‍डा उठाउनुहुनेछ। 13इस्राएली राज्‍यले अब उसो यहूदीसित ईर्ष्‍या गर्नेछैन न त यहूदाले इस्राएलसित दुश्‍मनी गर्नेछ। 14ती दुईले मिलेर पश्‍चिममा पलिश्‍तीहरूमाथि हमला गर्नेछन् र पूर्वमा त्‍यहाँका बासिन्‍दाहरूलाई लुट्‍नेछन्। तिनीहरूले एदोमी र मोआबीहरूलाई आफ्‍ना अधीन गर्नेछन् र अम्‍मोनीहरूले तिनीहरूका आज्ञापालन गर्नेछन्। 15परमेश्‍वरले लाल समुद्रलाई सुकाइदिनुहुनेछ र तातो हावा बहाएर यूफ्रेटिस नदी पनि सुकाइदिनुहुनेछ र त्‍यहाँ स-साना सात वटा खोला हुनेछन्। ती खोला जोसुकैले पनि हिँडेर पार गर्न सक्‍नेछ। 16मिश्रदेशबाट निस्‍किआउँदा इस्राएलका पिता-पुर्खाको निम्‍ति भएको जस्‍तै अश्‍शूरका बाँचेका इस्राएलका सन्‍तानको निम्‍ति त्‍यहाँबाट आउने एउटा मूल-बाटो हुनेछ।