உள்நுழைக
यशैया 34
NEP2008

यशैया 34 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)

1हे सबै जातिका मानिसहरू हो! आओ, भेला होओ र मेरा कुरा सुन। सारा संसार र त्‍यसका बासिन्‍दाहरू यहाँ आएर मेरा कुरा सुनून्। 2परमप्रभु सारा जातिहरू र तिनीहरूका सेनाहरूसित रिसाउनुभएको छ। उहाँले तिनीहरू सबैको विनाश गराउने आज्ञा गर्नुभएको छ। 3तिनीहरूका लाशहरू गाडिनेछैनन् तर सडेर गन्‍हाउँदै परिरहनेछन्। पर्वतहरू तिनीहरूको रगतले रक्‍ताम्‍मे हुनेछन्। 4ताराहरू चुर भई धुलो बन्‍नेछन्। आकाशचाहिँ बेरुवा-पुस्‍तक बेह्रिएझैँ हराउनेछ र ताराहरू दाख वा नेभाराको बोटबाट पातहरू झरेझैँ झर्नेछन्। 5परमप्रभुले आफ्‍नो तरवार स्‍वर्गमा बनाउनुभएको छ। त्‍यसले एदोममाथि प्रहार गर्नुहुनेछ, आफूले नाश गर्छु भनी ठहराउनुभएको जातिमाथि त्‍यसले हिर्काउनुहुनेछ। 6तिनीहरूका रगत र बोसोमा उहाँको तरवार बलि चढाएका थुमा र पाठाका रगत र बोसोमा झैँ मुछिनेछ। यो बलि परमप्रभुले बोज्रा सहरमा चढाउनुहुनेछ र एदोम देशमा यो ठूलो सहर संहार गराउनुहुनेछ। 7मानिसहरू जङ्गली गोरु र साँढेहरूझैँ ढल्‍नेछन् र जमिन रगतले रक्‍ताम्‍मे भई बोसोले भरिनेछ। 8यही समयमा परमप्रभुले सियोनको उद्धार गर्नुहुनेछ र त्‍यसका शत्रुहरूमाथि बदला लिनुहुनेछ। 9एदोमका खोलाहरू अलकत्रा र जमिन गन्‍धकमा बदलिनेछन्। सारा देश अलकत्राझैँ जल्‍नेछ। 10त्‍यो रात-दिन जल्‍नेछ, त्‍यसको धुवाँ सधैँभरि उठिरहनेछ। देशचाहिँ, युग-युग उजाड भइरहनेछ र त्‍यसबाट भएर कोही कहिल्‍यै हिँड्‍नेछैन। 11त्‍यो देशमा लाटोकोसेरो र कागहरू बास गर्नेछन्। परमप्रभुले त्‍यसलाई सृष्‍टिको अघिझैँ फेरि बाँझो र उजाड बनाउनुहुनेछ। 12देश शासन गर्ने कोही राजा हुनेछैन र सबै अगुवाहरू मासिनेछन्। 13सबै महल र किल्‍लाहरूमा काँडा र सिउँडीहरू उम्रनेछन् र त्‍यहाँ स्‍याल र लाटोकोसेराहरू बास गर्नेछन्। 14त्‍यहाँ जङ्गली जनावरहरू चरिहिँड्‍नेछन् र भूत-प्रेतहरूले एक-अर्कालाई बोलाउनेछन्। त्‍यहाँ विश्राम गर्न ठाउँ खोज्‍दै रातको जन्‍तु आउनेछ। 15लाटोकोसेराले त्‍यहाँ गुँड बनाई, फूल पारी बच्‍चा काढ्‍नेछ र हुर्काउनेछ। त्‍यहाँ गिद्धहरू जोडी-जोडी भई जम्‍मा हुनेछन्। 16परमप्रभुको पुस्‍तकमा खोजेर हेर र त्‍यहाँ लेखिएका कुरा पढ। यी जीव-जन्‍तु कुनै पनि मासिनेछैन, कुनै पनि जोडीबिना हुनेछैन। परमप्रभुले त्‍यस्‍तै आज्ञा गर्नुभएको छ। उहाँका आत्‍माले तिनीहरूलाई जम्‍मा गर्नुहुनेछ। 17परमप्रभुले नै तिनीहरूलाई जग्‍गाहरू बाँडिदिनुहुन्‍छ र प्रत्‍येकलाई हिस्‍सा दिनुहुनेछ। तिनीहरू त्‍यस ठाउँमा युग-युग बास गर्नेछन् र त्‍यो सदाकाल तिनीहरूको हुनेछ।