यशैया 41 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)
1परमेश्वर भन्नुहुन्छ, “हे टाढाका देशहरू हो, शान्त होओ र मेरा कुरा सुन! अदालतमा आफ्ना मुद्दा पेश गर्न तयार होओ, तिमीहरूलाई बोल्ने मौका दिइनेछ। हामी एकसाथ न्यायको निम्ति जम्मा होऔं। 2“कसले विजयी मानिसलाई पूर्वबाट ल्यायो र उसलाई कदम-कदममा विजय दिन्छ? कसले उसलाई राजा र जातिहरूमाथि विजय दिन्छ? उसका तरवारले तिनीहरूलाई धुलो पारिदिन्छ, उसका काँडले तिनीहरूलाई भुसझैँ उडाउँदछ। 3उसले तिनीहरूलाई खेद्दै आउँदछ र आफूले नचिनेका बाटामा पनि सुरक्षासाथ ऊ अघि बढ्छ! 4कसले यो सब गरायो? कसले सुरुदेखि अहिलेसम्ममा पुस्ताहरूलाई बोलायो? म परमप्रभु सुरुमा थिएँ र म परमप्रभु अन्तसम्म रहनेछु। 5“टाढा देशमा मानिसहरूले मेरा काम देखेका छन्। तिनीहरू तर्सेका छन् र डरले काँप्छन्। यसकारण तिनीहरू एकैसाथ आउँछन्। 6मानिसहरूले आपसमा एउटाले अर्कोलाई मद्दत र साहस दिँदछन्। 7सिकर्मीले सुनारलाई भन्दछ, ‘काम खुब राम्रो भयो!’ धातु पिटेर चिप्लो मूर्ति बनाउनेले, मूर्ति जोड्नेको मन बढाइदिन्छ। तिनीहरू भन्छन्, ‘रसाउने काम राम्रो भयो,’ र किला ठोकेर मूर्तिलाई ठाडो बस्ने गरी जोड्दछ। 8“तर हे इस्राएल, मेरा सेवक, मैले चुनेको याकूब, मेरा मित्र अब्राहामका सन्तान, 9मैले तँलाई पृथ्वीको पल्लो छेउबाट ल्याएँ। त्यसका टाढा-टाढाका कुनाकुनाबाट बोलाएर भनें, ‘तँ मेरो सेवक होस्। मैले तँलाई त्यागिनँ तर छानेको छु!’ 10नडरा, म तँसित छु! म तेरा परमेश्वर हुँ, कुनै कुराले तँलाई नतर्साओस्! म तँलाई बल र मद्दत दिनेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई बचाउनेछु। 11“तँसित रिसाउनेहरू हार खाएर लज्जित हुनेछन्। तिमीहरूका विरुद्धमा लड्नेहरू मारिनेछन्। 12तँसँग लड्नेहरूलाई तैँले खोज्नेछस् तर भेट्टाउनेछैनस्। तँसँग लडाइँ गर्नेहरू व्यर्थका हुनेछन् र पृथ्वीबाट लोप हुनेछन्। 13म परमप्रभु, तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समातेर भन्दछु, ‘नडरा, म तँलाई मद्दत दिनेछु’।” 14परमप्रभु भन्नुहुन्छ, “हे इस्राएल, तँ सानो र दुर्बल भए तापनि नडरा, म तँलाई सहायता गर्नेछु। म, इस्राएलका पवित्र परमेश्वरले नै तँलाई बचाउनेछु। 15म तँलाई नयाँ र तिखो दाँत भएको दाइँ गर्ने हतियार बनाउनेछु। तैँले पर्वतहरूलाई चुट्नेछस् र नाश पार्नेछस्, डाँडाहरू पेलेर धुलो पार्नेछस्। 16तैँले तिनीहरूलाई बतासमा निफन्नेछस् र हावाले तिनीहरूलाई उडाएर लैजानेछ र आँधीमा तिनीहरू छरपष्ट पारिनेछन्। तब तँ खुसी हुनेछस् किनकि म तेरा परमेश्वर हुँ। तिमीहरूले म इस्राएलका पवित्र परमेश्वरको प्रशंसा गर्नेछौ। 17“जब मेरा प्रजाले खाँचो परेर पानी खोज्दछन् र जब तिर्खाले तिनीहरूका घाँटी सुकेका हुन्छन्, तब म परमप्रभुले तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु। म, इस्राएलका परमेश्वरले तिनीहरूलाई कहिल्यै त्याग्नेछैनँ। 18रूखा डाँडाहरूमा म नदी बहाउनेछु। र बेँसीमा पानीका फोहोरा फुटाउनेछु। मरुभूमिलाई पानीको पोखरी र सुख्खा जमिनलाई बग्ने फोहोरा बनाउनेछु। 19म मरुभूमिमा देवदारु र बबुल, मेहेदी र जैतुनका रूखहरू उमार्नेछु, सुख्खा जमिनमा रूखहरू उम्रनेछ, सल्ला, धूपी र सिसौका रूखहरू उम्रनेछन्। 20मानिसहरूले यी सबै देखेर म परमप्रभुले के काम गरेको छु, ती जान्नेछन्। यी इस्राएलका पवित्र परमेश्वरले गराएका हुन् भनी तिनीहरूले बुझ्नेछन्।” 21परमप्रभु, याकूबका राजाले यसो भन्नुहुन्छ, “तिमी, जाति-जातिका देवताहरूले आफ्ना मुद्दा तयार पार, आफ्ना असल-असल तर्कहरू पेश गर! 22यहाँ आओ र के इन्साफ हुनेछ, सो बताओ र न्याय भएपछि त्यसो भएको हामी बुझौंला। बितेका दिनका घटनाहरूबारे अदालतमा बयान देओ र तिनका अर्थ हामीलाई बताओ। 23आउँदा दिनमा के हुने हो, सो हामीलाई बताओ, तब तिमीहरू साँचो ईश्वर रहेछौ भनी हामीहरू बुझ्नेछौं! केही भलाइ गर वा विपत्ति ल्याओ। हामीलाई डर र त्रासले सताओ! 24तिमीहरू र तिमीहरूका सबै काम व्यर्थ छन्, तिमीहरूलाई पुज्नेहरू घिनलाग्दा छन्। 25“मैले एक जना मानिसलाई उत्तर दिशादेखि छानेको छु र त्यो आउँछ। सूर्य उदय हुने दिशाबाट आएर त्यसले मेरो नाउँको पुकारा गर्नेछ। हिलोलाई कुल्चेझैँ, अँ, कुमालेले माटो कुल्चेझैँ त्यसले शासकहरूलाई कुल्चनेछ। 26तिमीहरूमध्ये कुनचाहिँले यो कुरा हुनेछ भनी अघिबाटै भनेको थियौ? तिमीहरू ठीक हौ भनी हामी कसरी भन्न सक्छौं र? तिमीहरू कसैले यसबारे एक शब्द बोलेनौ, तिमीहरूले बोलेका कसैले सुनेनन्! 27म परमप्रभु नै यो खबर सियोनलाई दिने पहिलो थिएँ, मैले एउटा खबर गर्ने मानिसलाई यरूशलेममा यसो भनी पठाएँ, ‘हेर, तिनीहरू यहाँ छन्।’ 28मैले देवी-देवताहरूका बीचमा खोजी गरें, कसैको केही भन्नु थिएन। कसैले मेरो प्रश्नको जवाफ दिन सकेन। 29यी सबै देवी-देवताहरू बेकामका हुन्, तिनीहरूले केही गर्न सक्दैनन्, यी मूर्तिहरू कमजोर र शक्तिहीन छन्।”

