यशैया 55 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)
1परमप्रभु भन्नुहुन्छ, “हे तिर्खाएकाहरू हो, यहाँ आओ, यहाँ पानी छ! हे रकम-पैसा नभएकाहरू हो, अन्न किनेर खाओ! आएर सित्तैंमा दाखमद्य र दूध किन! 2जे कुराले सन्तोष दिँदैन, त्यसमा किन पैसा खर्च गर्छौ? किन तिमीहरू परिश्रम गरेर अझ भोकै बस्छौ? मेरो कुरामा कान थाप र मैले भनेझैँ गर र तिमीहरूले सबैभन्दा असल भोजनको स्वाद लिन पाउनेछौ। 3“हे मानिसहरू हो, मेरो कुरा सुन र मकहाँ आओ र सुन तिमीहरूले जीवन पाउनेछौ! म तिमीहरूसित एउटा अनन्त करार बाँध्नेछु। मैले दाऊदलाई प्रतिज्ञा गरेका आशिष्हरू तिमीहरूलाई दिनेछु। 4मैले त्यसलाई जातिहरूका बीच एउटा अगुवा र सेनापति बनाएँ र त्यसद्वारा आफ्नो शक्ति तिनीहरूलाई देखाएँ। 5अब तिमीहरूले विदेशी जातिहरूलाई बोलाउनेछौ, तिनीहरूले एक समय तिमीहरूलाई चिन्दैनथे, तर अब तिमीहरूसित मिल्न दगुरेर आउनेछन्! म परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका पवित्र परमेश्वरले यो गरेर नै छोड्नेछु, म तिमीहरूलाई मान र गौरव दिनेछु।” 6जब परमप्रभु नजिक हुनुहुन्छ, उहाँतिर फर्क र उहाँलाई बिन्ती गर। 7दुष्टहरूले आफ्नो बाटो छोडून् र आफ्नो विचार त्यागून्। तिनीहरू परमप्रभु हाम्रा परमेश्वरतिर फर्कून्, उहाँ करुणामय हुनुहुन्छ र प्रशस्त गरी क्षमा गर्नुहुन्छ। 8परमप्रभु भन्नुहुन्छ, “मेरा सोच-विचार तिमीहरूका जस्ता छैनन्, मेरा चाल तिमीहरूका भन्दा बेग्लै छन्। 9आकाश पृथ्वीभन्दा जति अग्लो छ, त्यत्ति नै तिमीहरूका भन्दा मेरा चाल र सोच-विचारहरू अग्ला छन्। 10“मेरो वचन पृथ्वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्तो छ; त्यसले जमिन नभिजाई फर्कंदैन र त्यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्छ। 11मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै छ, मैले इच्छा गरेको काम त्यसले पूरा गरिछोड्नेछ, जुन काम गर्न म त्यसलाई पठाउनेछु, ती पूरा गरिछोड्नेछ। 12“तिमीहरू आनन्दसाथ बेबिलोनबाट बिदा हुनेछौ, शान्तिसित तिमीहरू सहरबाट बाहिर निकालिनेछौ। डाँडा-पर्वतबाट गीतको गुन्जन? फुटाई निस्कनेछ र सबै रूखहरू आनन्दले चिच्च्याउनेछन्। 13अहिले काँडा उम्रेका ठाउँमा सल्लाका रूखहरू उम्रनेछन् र काँडाका सट्टामा बैंसका रूखहरू हुनेछन्। त्यो कहिल्यै नमेटिने निशाना हुनेछ, म परमप्रभुको कीर्तिको सम्झना गराउने सधैँभरिको एउटा चिनो हुनेछ।”

