यशैया 61 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)
1सार्वभौम परमप्रभुले आफ्नो आत्माले मलाई भन्नुभएको छ। उहाँले मलाई अभिषेक गर्नुभयो र गरीबलाई सु-सन्देश सुनाउन, टुटेका हृदयहरू बिसेक गराउन, कैदीहरूलाई छुटकारा र झ्यालखानमा थुनिएकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न पठाउनुभयो। 2परमप्रभुले आफ्ना प्रजालाई बचाउने र शत्रुहरूलाई हार गराउने समय आइपुगेको छ भनी सुनाउन उहाँले मलाई पठाउनुभएको हो। विलाप गर्नेहरू सबैलाई सान्त्वना दिन पठाउनुभएको हो। 3सियोनमा विलाप गर्नेहरूलाई शोकको साटोमा आनन्द र रमाहट दिन उहाँले मलाई पठाउनुभएको हो, वेदनाको सट्टामा प्रशंसाको गीत दिन पठाउनुभएको हो। तिनीहरू आफैंले रोप्नुभएको फलाँटको? रूखझैँ हुनेछन्। जे ठीक छ, तिनीहरू सबैले त्यही गर्नेछन् र यसबाट परमेश्वरको महिमा हुनेछ। 4धेरै दिनदेखि ध्वस्त रहेका सहरहरू तिनीहरूले फेरि बसाल्नेछन्। 5ए मेरा प्रजा, विदेशीहरूले तिमीहरूको सेवा गर्नेछन्। तिनीहरूले तिमीहरूका भेडा हेरिदिनेछन्, खेतमा अन्न लगाइदिनेछन् र दाखबारी सम्हालिदिनेछन्। 6तिमीहरू परमप्रभुका पूजाहारीहरू र परमेश्वरका सेवकहरू हौ भनी मानिसहरूले चिन्नेछन्। जाति-जातिका धन-सम्पत्तिको आनन्द तिमीहरूले लिनेछौ र ती पाएर गर्व गर्नेछौ। 7तिमीहरूका लाज र अपमानको अन्त भयो। तिमीहरू आफ्ना देशमा बास गर्नेछौ, तिमीहरूको धन-सम्पत्ति दुई गुणा हुनेछ र तिमीहरूको आनन्द अन्त हुनेछैन। 8परमप्रभु भन्नुहुन्छ, “म न्यायलाई प्रेम गर्दछु, अत्याचार र अपराधलाई घृणा गर्दछु। विश्वासयोग्य भई म आफ्नो प्रजालाई इनाम दिनेछु र तिनीहरूसित एउटा सनातनको करार बाँध्नेछु। 9जातिहरूका माझमा तिनीहरूको सन्तानको नाम खुब चल्नेछ। तिनीहरूलाई देख्ने सबैले उनीहरूलाई मैले आशीर्वाद दिएको जाति हो भनी जान्नेछन्।” 10परमप्रभुको कारणले यरूशलेम रमाउँछ। पूजाहारीजस्तै दुलाहाले आफ्नो शिर सिंगारेझैँ र दुलहीले आफैंलाई रत्न-मणीले सिंगारेझैँ परमेश्वरले मलाई उद्धारको पोशाक पहिराइदिनुभएको छ। 11जसरी बिउ टुसाउँछ र बढ्छ, ठीक त्यसरी नै सार्वभौम परमप्रभुले आफ्ना प्रजालाई बचाउनुहुनेछ र सबै जातिहरूको प्रशंसा गर्नेछन्। उहाँले बचाउनुभएका मानिसहरूलाई आफ्नो साथमा ल्याउँदै हुनुहुन्छ।

