登入
गन्ती 34
NEP2008

गन्ती 34 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)

1[1-2] इस्राएलीहरूको लागि परमप्रभुले मोशालाई यी आदेश दिनुभयो, “जब तिमीहरू मैले दिएको देश कनानभित्र पस्‍नेछौ, तब तिमीहरूका इलाकाका सीमानाहरू यस प्रकार हुनेछन्: 3दक्षिणको सीमाना सीनको उजाड-स्‍थानदेखि एदोमको सीमाना साथसाथै जानेछ। पूर्वपट्टि त्‍यो मृत-सागरको दक्षिण सीमानाबाट सुरु हुनेछ। 4तब त्‍यो दक्षिणपट्टि अक्रब्‍बीम घाटीतिर घुम्‍नेछ र सीनको बीच भएर दक्षिणको कादेश-बर्नेसम्‍म जानेछ। तब त्‍यो उत्तर-पश्‍चिमपट्टि हसर-अद्दरतिर घुम्‍नेछ र अज्‍मोनसम्‍म पुग्‍नेछ, 5जहाँ त्‍यो मिश्रको सीमानाको बेसीतिर घुमेर जानेछ र भूमध्‍यसागरमा टुङ्गिनेछ। 6“पश्‍चिमपट्टिको सीमाना भूमध्‍य सागर हुनेछ। 7“उत्तरपट्टिको सीमाना भूमध्‍यसागरदेखि होर पर्वत भएर 8हमातको घाटीसम्‍म पुग्‍नेछ। त्‍यहाँबाट त्‍यो सदाद 9र सिप्रोनसम्‍म जानेछ र हसर-एनानमा टुङ्गिनेछ। 10“पूर्वपट्टिको सीमाना हसर-एनानदेखि सपामतर्फ जानेछ। 11त्‍यहाँदेखि ऐनको पूर्वपट्टि दक्षिणतिर रिब्‍लासम्‍म र त्‍यहाँबाट गालील तालको पूर्व किनारका डाँडाहरूमा जानेछ 12र त्‍यहाँबाट यर्दन नदीको दक्षिण किनार भएर त्‍यो मृत-सागरमा टुङ्गिनेछ। “तिम्रा देशका चारै दिशापट्टिका सीमानाहरू यी नै हुनेछन्।” 13यसकारण मोशाले इस्राएलीहरूलाई भने, “यही देश तिमीहरूले चिट्ठा हालेर लिनेछौ, जुन देश तिमीहरू नौ र आधा कुलहरूलाई परमप्रभुले दिनुभएको छ। 14[14-15] रूबेन र गादका कुलहरू र मनश्‍शेका पूर्वपट्टिका आधा कुलले यर्दन नदीका पूर्वमा यरीहोको सामुन्‍नेपट्टि आफ्‍ना जमिन पाइसकेका छन् र ती तिनीहरूले आफ्‍ना परिवारअनुसार बन्डा पनि गरिसकेका छन्।” 16परमप्रभुले मोशालाई भन्‍नुभयो, 17“पूजाहारी एलाजार र नूनको छोरो यहोशूले मानिसहरूको निम्‍ति जमिन बन्डा गर्नेछ। 18तिनीहरूलाई त्‍यस काममा मद्दत दिनको लागि हरेक कुलबाट एक जना अगुवा पनि लिनू।” 19[19-28] परमप्रभुले चुन्‍नुभएका पुरुषहरू यी नै हुन्: [कुल] — [अगुवा] यहूदा — यपुन्‍नेको छोरो कालेब शिमियोन — अम्‍मीहूदको छोरो शेमुएल बेन्‍यामीन — किसलोनको छोरो एलीदाद दान — योगलीको छोरो बुक्‍की मनश्‍शे — एपोदको छोरो हन्‍नीएल एफ्राइम — शिप्‍तानको छोरो कमूएल जबूलून — पर्नाकको छोरो एलीजापान इस्‍साखार — अजानको छोरो पल्‍तिएल आशेर — शलोमीको छोरो अहीहूद नप्‍ताली — अम्‍मीहूदको छोरो पदहेल। 29कनान देशमा इस्राएलका मानिसहरूका निम्‍ति जमिन बन्डा गर्नलाई परमप्रभुले खटाउनुभएका पुरुषहरू यी हुन्।