भजनसंग्रह 116 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)
1म परमप्रभुलाई प्रेम गर्दछु किनभने उहाँले मेरो पुकार र मेरो प्रार्थना सुन्नुहुन्छ। 2म जति पल्ट उहाँलाई पुर्कादछु, उहाँले मलाई सुन्नुहुन्छ। 3मेरा चारैपट्टि मृत्युको खतरा थियो, मृत्युको डरले मलाई छोप्न आउँदथ्यो मलाई पूरा डर र चिन्ता परेको थियो। 4त्यस बेला मैले परमप्रभुलाई पुकारें— “परमप्रभु, म बिन्ती गर्दछु, मलाई बचाउनुहोस्!” 5परमप्रभु असल र कृपालु हुनुहुन्छ। हाम्रा परमेश्वर दयालु हुनुहुन्छ। 6परमप्रभुले असहायहरूलाई रक्षा गर्नुहुन्छ, म खतरामा पर्दा उहाँले मलाई बचाउनुभयो। 7हे मेरो हृदय, ढाडस गर् किनभने परमप्रभु मेरो भलो हुनुहुन्छ। 8परमप्रभुले मलाई मृत्युदेखि बचाउनुभयो, उहाँले मेरो आँसु पुछिदिनुभयो र मलाई हारदेखि बचाउनुभयो। 9यसैले म जिउँदाहरूका जगत्मा परमप्रभुको सामु हिँड्डुल गर्दछु। 10“म पूरै चुर-चुर भएको छु,” भनेको बेलामा, 11म डराएर “कसैमा भरोसा छैन” भनेको बेलामा पनि मैले विश्वास गर्न छोडिनँ। 12मप्रति गर्नुभएका उहाँका सारा भलाइका लागि म परमप्रभुलाई के दिन सक्छु र? 13मलाई बचाउनुभएको लागि धन्यवाद चढाउनलाई म परमप्रभुकहाँ दाखमद्य भेटी चढाउनेछु। 14उहाँका सारा प्रजाको सभामा मैले प्रतिज्ञा गरेका कुरा म उहाँलाई चढाउनेछु। 15जब उहाँको एक जना मानिस मर्दछ, परमप्रभुलाई कत्रो दु:ख लाग्दछ! 16परमप्रभु, म तपाईंको दास हुँ, मेरी आमाले गरेजस्तै मैले तपाईंको सेवा गर्नेछु, तपाईंले मलाई मृत्युदेखि बचाउनुभयो। 17म तपाईंलाई धन्यवादको बलि चढाउनेछु, म तपाईंलाई आफ्नो प्रार्थना चढाउँदछु। 18[18-19] तपाईंका सारा प्रजा भेला भएको सभामा, यरूशलेममा, तपाईंको मन्दिरको पवित्र बासस्थानमा, मैले प्रतिज्ञा गरेको कुरा म तपाईंलाई चढाउनेछु। परमप्रभुको प्रशंसा गर!

