जकरिया 3 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)
1परमप्रभुले मलाई अर्को एउटा दर्शन दिनुभयो। मैले महा-पूजाहारी यहोशू परमप्रभुको दूतको अगाडि उभिएका देखें। त्यहाँ यहोशूको छेउमा उनलाई दोष दिन शैतान उभिरहेको थियो। 2परमप्रभुका दूतले शैतानलाई भने, “शैतान, तँलाई परमप्रभुले हप्काऊन्! यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई सजाय देऊन्! यो मानिस त आगोबाट निकालिएको अगुल्टो मात्र होइन?” 3यहोशू मैला लुगा लाएर उभिएका थिए। 4स्वर्गदूतले तिनका सुसारेहरूलाई भने, “यस मानिसको मैलो लुगा फुकालिदेओ।” त्यसपछि उनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु र म तिमीलाई बहुमूल्य लुगा लगाइदिनेछु।” 5उनले सुसारेहरूलाई यहोशूको टाउकोमा सफा फेटा लाइदिने आज्ञा दिए। सुसारेहरूले त्यसै गरे र उनको जिउमा बहुमूल्य लुगा पनि लाइदिए। स्वर्गदूतचाहिँ त्यहीँ उभिरहेका थिए। 6तब स्वर्गदूतले सर्वशक्तिमान् परमप्रभुका यी वचन यहोशूलाई सुनाए, 7“यदि तैँले मेरा नियमहरू पालन गरिस् र मैले खटाएका कामहरू पूरा गरिस् भने, तैँले मेरो मन्दिर र त्यसका चोकहरूको हेरचाह गर्नेछस् र यहाँ उभिएकाहरूलाई झैँ मेरो सामु आउने अधिकार तँलाई दिनेछु। 8हे महा-पूजाहारी यहोशू! तँ र तेरा सङ्गी पूजाहारीहरू सबैले यो कुरा सुन! तिमीहरू आउने असल दिनहरूका लक्षण हौ। हाँगा कहलाइने मेरो सेवकलाई म प्रकट गर्नेछु। 9म यहोशूको अघि एउटा सातपाटे ढुङ्गा राख्नेछु। म त्यसमा केही अक्षर खोप्नेछु र एकै दिनमा यो देशको पाप हटाइदिनेछु। 10त्यो दिन आएपछि तिमीहरू हरेकले आफ्ना छिमेकीलाई आफ्ना दाखबारी र नेभाराका बोटहरूबीच शान्ति-सुरक्षासाथ बस्न निम्तो दिनेछौ।”

