Log ind
हितोपदेश 9
NEP2008

हितोपदेश 9 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)

1बुद्धिले आफ्‍नै घर बनाएको छ र त्‍यसमा सात खामाहरू लाएको छ। 2भोजको निम्‍ति त्‍यसले एउटा पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ र भोज तयार पारेको छ। 3सहरका अग्‍लाअग्‍ला ठाउँबाट यसो भन्‍नलाई त्‍यसले आफ्‍ना चाकर्नीहरू पठाएको छ, 4“हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई त्‍यसले यसो भन्‍छ, 5“आओ, मेरो भोज खाओ र मैले मिसाएको दाखमद्य पिओ। 6निर्बोधहरूको साथ छोड र बाँच। ज्ञानको मार्ग समात।” 7अहङ्कारी मानिसलाई सुधार्ने मानिसले बदनाम मात्र पाउनेछ। दुष्‍टलाई हप्‍काउनेले आफ्‍नै हानि गर्दछ। 8अहङ्कारी मानिसलाई सुधार्ने काम नगर, त्‍यसले तिमीलाई त्‍यसको निम्‍ति घृणा गर्नेछ। तर बुद्धिमान् मानिसलाई सुधार्ने काम गरे त्‍यसले तिमीलाई आदर गर्नेछ। 9बुद्धिमान् मानिसलाई अर्ती दिन्‍छौ भने ऊ अझै बुद्धिमान् बन्‍दछ। धर्मीलाई शिक्षा दिए उसको ज्ञान बढ्दछ। 10ज्ञानी बन्‍नलाई पहिले परमप्रभुको भय मान्‍नुपर्दछ। परमपवित्रलाई जान्‍नु नै समझशक्ति पाउनु हो। 11बुद्धिले तिम्रो आयु बढाउँछ। 12तिमीले बुद्धि लियौ भने तिम्रै लाभ हुनेछ तर त्‍यसलाई इन्‍कार गर्‍यौ भने तिम्रो हानि हुनेछ। 13मूर्खता एउटी ठूलो स्‍वर भएकी, अज्ञानी र निर्लज्‍ज स्‍त्रीजस्‍तो हो। 14त्‍यो आफ्‍नो घरको ढोका वा सहरको उच्‍च स्‍थानमा एउटा बैठकमा बस्‍छ 15र आफ्‍नो काम गर्ने र छेउबाट जाने मानिसहरूलाई यसो भन्‍दै बोलाउँछ, 16“हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई यसो भन्‍छ। 17“चोरेर पिएको पानी मीठो हुन्‍छ, लुकेर खाएको रोटी स्‍वादिलो हुन्‍छ।” 18त्‍यसका पन्‍जामा पर्नेहरू, त्‍यसको घरमा जानेहरू मर्छन् र त्‍यहाँ पसिसक्‍ने जतिचाहिँ मृत्‍यु-लोक पुगिसकेका छन् भनी जान्‍दैनन्।