Accedi
रोमी 3
NEP2008

रोमी 3 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)

1त्‍यसो भए यहूदी भएकोमा के फाइदा भयो त? के खतना हुँदैमा केही फाइदा छ? 2हरेक प्रकारले छ। सबैभन्दा पहिले परमेश्‍वरले यहूदीहरूलाई आफ्‍नो पवित्र वचन सुम्‍पिनुभयो। 3तर कति जना यो पवित्र वचन पालन नगरेर अविश्‍वासी बने भन्‍दैमा के परमेश्‍वरले आफ्‍नो वचन तोड्‍नुहुन्‍छ र? 4हुँदै होइन, मान्‍छे झूटो भए पनि परमेश्‍वर साँचो नै रहनुहुन्‍छ। जस्‍तो धर्मशास्‍त्रले भन्‍दछ, “तपाईंले बोल्‍नुभएको कुरामा तपाईं ठीक हुनुहुन्‍छ भनी मानिसहरूले देख्‍नेछन् अनि फैसला हुने बेला तपाईंकै जित हुनेछ,।” 5तर हामीहरूले गरेका खराब कामहरूले परमेश्‍वरलाई अझ ठीक देखाउँछ भने हामी के भनौं त? के परमेश्‍वर हामीसित रिसाउनु गल्‍ती हो? कति मानिसहरूले यस्‍तै विचार गर्दछन्। 6परमेश्‍वरले दण्‍ड दिनु कुनै किसिमले पनि गल्‍ती होइन। यदि परमेश्‍वर न्‍यायी हुनुहुन्‍न भने कसरी मानिसहरूको फैसला गर्नुहुन्‍छ? 7मेरो झूटले परमेश्‍वरको सत्‍यलाई बढाएर उहाँको झन् आदर हुन्‍छ भने किन मलाई पापी ठहराउने? 8केही असल देखा परोस् भनेर नै हामीले पाप गरौं भन्‍यौं रे! कसै-कसैले यही दोष हामीलाई लगाउँछन्। यस्‍ता दोष लगाउने मानिसलाई उचित सजाय हुनेछ। 9त्‍यसो भए के अरूहरूभन्दा हामी यहूदीहरू बेस छौं त? एकदमै होइन। मैले अघि नै देखाइसकेको छु: यहूदी र अरूहरू पनि सबै समान रूपले पापका पन्‍जामा छन्। 10यस्‍तै कुरा धर्मशास्‍त्रमा पनि लेखिएको छ, “परमेश्‍वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि। 11परमेश्‍वरलाई बुझ्‍ने मानिस कोही छैन नता कसैले परमेश्‍वरको खोजी नै गरेका छन्। 12सबैले बाटो बिराएका छन् र सबै काम नलाग्‍ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।” 13“तिनीहरूको घोक्रो खुल्ला चिहानजस्‍तै छ, तिनीहरूले आफ्‍नै जिब्राले ढाँटेका छन्,।” “तिनीहरूको बोली विषालु सर्पको विषजस्‍तो छ,।” 14“तिनीहरूले सरापिरहन्‍छन् र मनको तीतो पोखाइरहन्‍छन्,।” 15“तिनीहरू मानिस मार्न छिटा छन्। 16तिनीहरू जहाँ-जहाँ जान्‍छन्, त्‍यहाँ-त्‍यहाँ मृत्‍यु र दु:ख फैलाउँछन्। 17शान्‍तिको बाटो तिनीहरूले चिनेका छैनन्,।” 18“नता परमेश्‍वरको डरै मानेका छन्,।” 19व्यवस्थाको कुरा व्यवस्थाका अधीनमा हुने मानिसलाई भनिएको हो भनी हामीलाई थाहा छ। यसकारण सबै मानिसको मुखमा बुजो लाग्‍नेछ र सारा संसार दोषी ठहराइन परमेश्‍वरको अगाडि उभ्‍याइनेछ। 20व्यवस्था पालनले कोही पनि परमेश्‍वरको अगाडि ठीक ठहरिनेछैन किनभने व्यवस्थाले त मानिसले गरेको पाप चिनाइदिन्‍छ। 21तर अहिले व्यवस्थाबिना परमेश्‍वरले मानिसलाई ठीक ठहराउनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ। यही कुरा व्यवस्था र अगमवक्ताहरूले बताएका छन्। 22यसरी परमेश्‍वरले येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैलाई ठीक ठहराउनुहुन्‍छ किनभने उहाँले कसैलाई पनि छुट्याउनुहुन्‍न 23किनभने सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमाबाट टाढिएका छन्। 24तर परमेश्‍वर दयालु हुनुहुन्‍छ र उहाँले अनुग्रह गरेर ख्रीष्‍टद्वारा मानिसलाई सित्तैंमा निर्दोष र ठीक ठहराउनुहुन्‍छ किनभने ख्रीष्‍ट येशूले सबैको साटो आफैंले सजाय भोगेर पापको कैदबाट मानिसलाई छुटाउनुभएको छ। 25परमेश्‍वरले ख्रीष्‍ट येशूलाई हाम्रो लागि प्रायश्‍चितको बलिदान स्वरूप दिनुभएर उहाँको रगत हाम्रो लागि बगाइएको हो भनी विश्‍वास गर्ने मानिसको पाप मेटिदिनुभएको छ। परमेश्‍वरले पापको सजाय ख्रीष्‍टमा दिएर आफैंलाई न्‍यायी देखाउनुभयो। परमेश्‍वरले ख्रीष्‍ट आउनुभन्दा पहिले आफ्‍नो रिस थामेर मानिसलाई पापको सजाय दिनुभएन। 26परमेश्‍वरले अब यो युगमा आफ्‍नो न्‍याय देखाउन मानिसहरूका पाप हटाएर तिनीहरूलाई निर्दोष ठहराउनुहुन्‍छ। यसरी येशूमा विश्‍वास गर्ने हरेकलाई उहाँले ठीक ठहराउनुहुन्‍छ र आफैं धर्मी हुनुहुन्‍छ। 27त्‍यसो भए केको बारेमा घमण्‍ड गर्ने? घमण्‍ड गर्ने त कुरै छैन। धर्म-कर्मले मानिसलाई घमण्‍डी तुल्‍याउँछ। तर ख्रीष्‍टमा विश्‍वास गर्दा आफ्‍नो धर्म-कर्ममा घमण्‍ड गर्ने कुरै आउँदैन। 28यसरी हामीलाई थाहा हुन्‍छ, धर्म-कर्म गरेर होइन तर ख्रीष्‍टमा विश्‍वास गरेर मात्रै परमेश्‍वरको सामु ठीक ठहरिन सकिन्छ। 29के परमेश्‍वर यहूदीहरूका मात्र परमेश्‍वर हुनुहुन्‍छ? के अन्यजातिका मानिसहरूको परमेश्‍वर हुनुहुन्‍न र? अवश्‍य उहाँ सबैका परमेश्‍वर हुनुहुन्‍छ। 30परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँले यहूदी हुन् वा अन्यजाति हुन्, सबैलाई तिनीहरूको विश्‍वासद्वारा नै आफ्‍नो सामु ठीक ठहराउनुहुन्‍छ। 31परमेश्‍वरको सामु विश्‍वासद्वारा ठीक ठहरिन्‍छ भने के परमेश्‍वरको नियमचाहिँ काम नलाग्‍ने हुन्‍छ त? अहँ होइन। बरु हामी उहाँको नियमलाई साँचो रूपले मान्‍छौं।